राममणि घिमिरे
मन्दिरको दीप निभाई राँको बाल्न थाले लौन
जूनसँग तारा साटी कता फाल हाले लौन
गरीबका महलहरु चितामानै तेर्सिएझैँ
आभाभित्रै कस्तो ज्वाला दन्काएर बाले लौन
चौतारीको पिपलु'नि खुकुरीको बिंड बन्छ
रगत पोती निधारमा कता पाईला चाले लौन
सपूत छोरा छैनन् आमा गर्भबीचै तुहिएछन्
कपूतले खोक्रो बनाई धमिरा पो पाले लौन
रक्तबीज रोपिकन अन्नदाना खोज्छन् यहाँ
भातृत्वको भाव बेची काखैबीच ढाले लौन